वीरगन्जका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २५ गते ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार सिंहसँगै वीरगन्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुस्कर राना, शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोककी रिता भट्टराईविरुद्ध आरोपपत्र दर्ता गरिएको हो।

आयोगले पर्साको वीरगन्ज महानगरपालिका वडा नं. ३ र जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मदर्ता तथा नागरिकता बनाउने क्रममा गलत लिखत तयार गरी सरकारी अभिलेख सच्याएर राज्यलाई नोक्सानी पुर्‍याएको आरोप लगाएको छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको ठहर गर्दै आयोगले कैद र जरिवानाको मागसहित सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?