काठमाडौँमा मेट्रो रेलको विकल्प छैन : पूर्वाधारविद् आचार्य

10 घन्टा पहिले प्रकाशित

 

काठमाडौं, जेठ २४ गते ।  पूर्वाधारविद् सूर्यराज आचार्य ले काठमाडौँ उपत्यकाको बढ्दो जनघनत्व र कमजोर सडक पूर्वाधारलाई दृष्टिगत गर्दै उच्च क्षमताको सार्वजनिक यातायात प्रणालीका रूपमा मेट्रो रेल निर्माण अपरिहार्य भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले काठमाडौँलाई दीर्घकालसम्म देशको राजधानी तथा आर्थिक केन्द्रका रूपमा व्यवस्थित राख्न प्रमुख यातायात कोरिडोरहरूमा मेट्रो रेलको विकल्प नरहेको उल्लेख गरेका छन्। सडकका खाल्टा पुर्न नसक्ने र बस सेवा प्रभावकारी बनाउन नसक्ने अवस्थालाई आधार बनाएर मेट्रो रेलजस्तो आधुनिक पूर्वाधारको आवश्यकता अस्वीकार गर्नु दूरदर्शी सोच नहुने उनको तर्क छ।

आचार्यले भारतको दिल्ली मेट्रो परियोजनाको उदाहरण दिँदै विकासशील मुलुकमा पनि दृढ राजनीतिक इच्छाशक्ति, स्वायत्त व्यवस्थापन र हस्तक्षेपमुक्त कार्यशैली भएमा ठूला पूर्वाधार आयोजना सफल बनाउन सकिने बताएका छन्। भारतमा प्रारम्भिक चरणमा मेट्रो रेलको विरोध भए पनि ‘मेट्रोम्यान’ का रूपमा परिचित ई. श्रीधरण को नेतृत्वमा दिल्ली मेट्रो निर्धारित समयभन्दा अगावै र बजेटभित्र सम्पन्न भएको स्मरण गराउँदै उनले त्यसले भारतको आत्मविश्वास बढाएको उल्लेख गरेका छन्। नेपालमा पनि स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यान्वयन भए मेट्रो रेल असम्भव नभएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?