कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालप्रति स्थानीयको आक्रोश

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २४ गते ।  पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथिको बहुचर्चित पुल निरीक्षण गर्न पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल विरुद्ध स्थानीय युवाले नाराबाजी गरेका छन्। शनिबार साँझ पुलस्थलमा पुगेर निर्माण प्रगतिबारे जानकारी लिएका मन्त्री लम्सालले काम छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए पनि पुल निर्माणको समयसीमा, पुरानै संरचनाको निरन्तरता वा नयाँ योजनाबारे स्पष्ट धारणा सार्वजनिक नगरेपछि स्थानीय असन्तुष्ट बनेका हुन्।

करिब १५ वर्षदेखि अलपत्र अवस्थामा रहेको कमला पुलको विषयमा पटक–पटक उच्चस्तरीय निरीक्षण र आश्वासन आए पनि निर्माण सम्पन्न हुन नसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। मन्त्रीको टोली फर्किने क्रममा युवाहरूले ‘फोटो खिचाउन मात्र होइन, जवाफ पनि दिनुपर्छ’ तथा ‘मधेशलाई उपेक्षा गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए। हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्रीले काम गरेर देखाउने प्रतिबद्धता जनाए पनि ठोस कार्ययोजना र समयसीमा नदिँदा स्थानीयमा निराशा बढेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटनाका क्रममा सामान्य नाराबाजी मात्र भएको र कुनै अवरोध सिर्जना नभएको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?