नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान खनाल–जयशङ्कर छलफल

10 घन्टा पहिले प्रकाशित

एजेन्सी, जेठ २४ गते ।  परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशङ्कर बीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा जनस्तरका सम्बन्धलगायत विषयमा विस्तृत छलफल भएको बताइएको छ। परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै नयाँ सरकारले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिमार्फत दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउन चाहेको बताएका छन्।

विदेशमन्त्री जयशङ्करले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, संस्कृति, धार्मिक परम्परा र जनस्तरको निकटतामा आधारित रहेको उल्लेख गर्दै व्यापार, ऊर्जा, शिक्षा, विकास सहकार्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको बताए। उनले स्टार्टअप, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र नवीकरणीय ऊर्जाजस्ता नयाँ क्षेत्रमा पनि साझेदारीका पर्याप्त सम्भावना रहेको उल्लेख गरे। दुवै पक्षले आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?