समस्तीपुरमा तरकारी चोरीको आरोपमा युवकलाई रुखमा बाँधियो, प्रहरीद्वारा उद्धार

13 घन्टा पहिले प्रकाशित

एजेन्सी, असोज १२ गते । भारतको बिहारस्थित समस्तीपुरको चकमेहसी थाना क्षेत्रको करुआ गाउँमा केरा र काउली चोरी गरेको आरोपमा एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएर रुखमा बाँधेको घटना सार्वजनिक भएको छ। ग्रामीणका अनुसार खेतबाट केरा र काउली काटेर लैजाँदै गरेको अवस्थामा ती युवकलाई समातिएको थियो। त्यसपछि स्थानीयको भीड जम्मा भएर उनलाई रुखमा डोरीले बाँधेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। पछिल्ला केही दिनदेखि खेतबाट तरकारी चोरी भइरहेको भन्दै किसानले निगरानी गरिरहेको बताइएको छ। 

घटनाको जानकारी पाएपछि प्रहरीको ११२ टोली घटनास्थल पुगेर युवकलाई भीडबाट मुक्त गरी चकमेहसी प्रहरी कार्यालयमा लगेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका युवकको नाम प्रवीणकुमार परवाना रहेको बताइएको छ। प्रहरीका अनुसार हालसम्म किसानको तर्फबाट लिखित उजुरी परेको छैन र उजुरी प्राप्त भएपछि कानुनी प्रक्रिया अघि बढाइनेछ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको स्वतन्त्र पुष्टि भने गरिएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?