“न्यायिक सेवा सुदृढीकरणका लागि मन्त्री फकिरा महतोसहित उच्चस्तरीय टोलीद्वारा बारा जिल्ला अदालतको अनुगमन”
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ २२ गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री माननीय फकिरा महतोको नेतृत्वमा बारा जिल्ला अदालतमा उच्चस्तरीय अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ। अनुगमन टोलीमा पर्सा उच्च अदालतका मुख्य न्यायाधीश श्री गोकर्ण डाँगी, उच्च अदालतका न्यायाधीशहरू, बारा जिल्ला अदालतका मुख्य न्यायाधीश श्री यज्ञप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्र, सुरक्षा निकायका प्रमुखहरू, रजिस्ट्रार, श्रेस्तेदार तथा अन्य सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा अदालतको सेवा प्रवाह, मुद्दा व्यवस्थापन, न्याय सम्पादनको अवस्था, भौतिक पूर्वाधार तथा नागरिकलाई प्रदान गरिने सेवाको प्रभावकारिताबारे अवलोकन गरिएको थियो। सहभागीहरूले न्यायिक सेवालाई अझ छिटो, सहज र प्रभावकारी बनाउन आवश्यक सुझाव तथा अनुभव आदानप्रदान गरेका थिए।
_1780646745_0.jpeg)
कार्यक्रममा मन्त्री महतोले कानूनको शासन सुदृढ गर्दै नागरिकलाई छिटोछरितो र गुणस्तरीय न्याय प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साथै न्यायिक निकाय र प्रशासनबीचको समन्वयले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
अनुगमन तथा निरीक्षण कार्यक्रममा उपस्थित न्यायाधीश, प्रशासनिक अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले न्यायिक सेवाको गुणस्तर अभिवृद्धि र संस्थागत सुदृढीकरणका विषयमा आ-आफ्ना धारणा राखेका थिए।


कमेन्ट गर्नुहोस्
view comments