दुर्घटनाका दोषी पक्राउको माग गर्दै लक्ष्मीनियामा सडक अवरुद्ध
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ २२ गते । जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत लक्ष्मीनियामा सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनाका दोषीलाई पक्राउ गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासीले शुक्रबार बिहान सडक अवरुद्ध गरेका छन्। स्थानीयका अनुसार बिहान ७ बजेदेखि ८ः३० बजेसम्म टायर बालेर सडक अवरुद्ध गरिएको थियो, जसका कारण उक्त सडकखण्डमा केही समय सवारी आवागमन प्रभावित बनेको थियो।
गत जेठ २० गते लक्ष्मीनिया गाउँपालिका–७ निवासी ६५ वर्षीया मरनीदेवी महरालाई खेततर्फ जाने क्रममा सडक पार गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको परिवारले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको हालसम्म पहिचान हुन नसकेको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन्। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments