छिन्नमस्ता गाउँपालिकामा अराजकता, प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २१ गते ।  छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले घटनाको कडा भर्त्सना गरेका छन्। कर्मचारीहरूले जारी गरेको विज्ञप्तिअनुसार बुधबार एक समूहले कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृतलाई कुर्सीबाट लडाउने, अपशब्द प्रयोग गर्ने तथा कार्यालयका झ्यालका सिसालगायत सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको थियो। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न कर्मचारीहरूले स्थानीय प्रशासन र प्रहरीसँग माग गरेका छन्।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले विद्यालयका विद्यार्थीहरूको दुरुपयोग गरी गाउँपालिकाविरुद्ध प्रदर्शन गराइएको आरोप लगाएका छन्। विद्यालयमा पंखा, खानेपानीलगायत आवश्यक सुविधा उपलब्ध गराइसक्दा पनि भ्रम फैलाएर शैक्षिक वातावरण बिगार्ने प्रयास भएको उनको भनाइ छ। कर्मचारीहरूले बालबालिकालाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्दै दोषीमाथि कारबाही र कार्यालय सञ्चालनका लागि आवश्यक सुरक्षा सुनिश्चित नभएसम्म कामकाज प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?