नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाटै समाधान हुने भारतको स्पष्ट सन्देश

11 घन्टा पहिले प्रकाशित

एजेन्सी, जेठ २० गते ।  भारतको विदेश मन्त्रालयले नेपाल–भारत सीमा सम्बन्धी बाँकी विवादहरू स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल ले दुई देशबीचको सीमाङ्कन कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमाङ्कनको काम बाँकी रहेको बताउनुभयो। सीमाङ्कन सम्पन्न भएका क्षेत्रमा पनि सीमा अतिक्रमण तथा दसगजा क्षेत्रमा देखिएका समस्याको संयुक्त रूपमा नक्साङ्कन भइरहेको उहाँले उल्लेख गर्नुभयो।

नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयबाट सीमासम्बन्धी हालै व्यक्त गरिएका धारणा सम्बन्धी प्रश्नको जवाफ दिँदै जयसवालले सीमा विवाद नेपाल र भारतबीचको पूर्णतः द्विपक्षीय विषय भएको र यसमा कुनै तेस्रो पक्षको भूमिका नरहने स्पष्ट गर्नुभयो। उहाँले सीमा सम्बन्धी प्राविधिक तथा कूटनीतिक विषय समाधान गर्न दुवै देशबीच प्रभावकारी संयन्त्र सक्रिय रहेको बताउँदै नेपाल–भारत सम्बन्ध ऐतिहासिक, राजनीतिक र जनस्तरमा समेत गहिरो रहेको उल्लेख गर्नुभयो। पछिल्ला उच्चस्तरीय भ्रमण र संवादले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाइरहेको उहाँको भनाइ थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?