डकैती प्रयास विफल पार्न खोज्दा दम्पतीमाथि गोली प्रहार, महोत्तरीमा सुरक्षा चुनौती थपियो

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २० गते ।  महोत्तरीको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा मध्यराति घरभित्र प्रवेश गरेका हतियारधारी डाँका समूहसँग प्रतिकार गर्दा एक दम्पती गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीय २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया पत्नी किरण यादव घरमा सुतिरहेका बेला ५–६ जनाको अज्ञात समूह चोरी तथा डकैती गर्ने उद्देश्यले घरभित्र प्रवेश गरेको थियो। घरभित्र लुटपाटको प्रयास भइरहेको थाहा पाएपछि दम्पतीले प्रतिकार गर्दै गुहार मागेका थिए।

प्रतिकारका कारण आफ्नो योजना असफल हुने देखेपछि डाँका समूहले दम्पतीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका रामईश्वर र किरणलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। घटनास्थलबाट प्रहरीले एक थान गोलीको खोका बरामद गरेको छ भने घटनामा संलग्न समूहको खोजीका लागि विभिन्न नाकामा कडा चेकजाँच सुरु गरिएको जनाएको छ। पछिल्लो समय ग्रामीण क्षेत्रमा बढ्दो चोरी, डकैती र गोली प्रहारका घटनाले स्थानीयवासीमा त्रास बढाएको छ भने सुरक्षा व्यवस्थाप्रति समेत प्रश्न उठ्न थालेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?