पाँचदिने भारत भ्रमणमा रवि लामिछाने, उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, जेठ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी भारत गएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भ्रमण सम्पन्न गरी फर्किएपछि विस्तृत जानकारी दिने बताएका छन्। भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेका छन्।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार जेठ १८ देखि २२ गतेसम्म हुने भ्रमणका क्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। लामिछानेले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदायका प्रतिनिधि तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन्। साथै, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्या भ्रमण पनि कार्यक्रममा समावेश गरिएको छ। रास्वपाले यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध, राजनीतिक संवाद र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments