नयाँ कमला पुलको बजेट माग्दै सभामुख यादवलाई ज्ञापनपत्र, संघर्ष समितिको आन्दोलन चर्किने चेतावनी
7 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १८ गते । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरेपछि नयाँ कमला पुल निर्माण संघर्ष समिति आन्दोलनमा उत्रिएको छ। समितिले पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्दै मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवलाई ज्ञापनपत्र बुझाएको छ। पूर्व सहमतिअनुसार निर्माण प्रक्रिया अगाडि नबढेको भन्दै समितिले विरोध प्रदर्शनसमेत गरेको हो।
संघर्ष समिति र मधेस प्रदेश सरकारबीच नयाँ कमला पुल निर्माणका लागि आवश्यक बजेट संघीय बजेटमार्फत सुनिश्चित गर्न पहल गर्ने सहमति भएको थियो। संघीय सरकारले बजेट उपलब्ध नगराएको अवस्थामा पुल निर्माणको सम्पूर्ण लागत मधेस प्रदेश सरकारले आफ्नै स्रोतबाट व्यहोर्ने तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न बोलपत्र आह्वान गर्ने समझदारी पनि भएको थियो। तर संघीय बजेटमा पुल निर्माणका लागि कुनै रकम विनियोजन नभएपछि स्थानीयवासी र संघर्ष समिति असन्तुष्ट बनेका छन्।
सोमबार सभामुख यादवलाई ज्ञापनपत्र बुझाउँदै समितिले संघीय सरकारले बजेट नदिएको अवस्थामा मधेस प्रदेश सरकारले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गरी निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ। मागप्रति बेवास्ता गरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत समितिले दिएको छ।
सिराहा र धनुषा जिल्लाका हजारौं नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको नयाँ कमला पुल वर्षौंदेखि स्थानीयको प्रमुख मागका रूपमा रहँदै आएको छ। स्थानीयवासीले अब आश्वासनभन्दा पनि निर्माण कार्यको थालनी आवश्यक रहेको बताउँदै सरकारसँग तत्काल ठोस निर्णय गरी पुल निर्माणको काम सुरु गर्न आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments