अत्यधिक गर्मीको असर : विद्यालयमा १० छात्रा बेहोस, एकको अवस्था गम्भीर

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ १८ गते ।अत्यधिक गर्मीका कारण महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित कान्तिबजारको राष्ट्रिय माध्यमिक विद्यालयमा आइतबार १० जना छात्रा बेहोस भएका छन्। विद्यालय प्रशासनका अनुसार कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरू गर्मीका कारण अचेत भएका हुन्। बेहोस भएका छात्रामध्ये ७ जनालाई उपचारका लागि कान्तिबजार स्वास्थ्य चौकी लगिएको थियो। उपचारपछि ६ जना घर फर्किएका छन् भने टाउको दुख्ने र सास फेर्न समस्या देखिएकी एक छात्रालाई थप उपचारका लागि गौशाला नगर अस्पताल रेफर गरिएको विद्यालयले जनाएको छ।

स्वास्थ्यकर्मीका अनुसार प्रभावित छात्राहरूमा न्यून रक्तचाप, डिहाइड्रेसन, टाउको दुख्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो। घटनापछि विद्यालयले छैटौँ पिरियडपछि पठनपाठन बन्द गरेको छ। प्रधानाध्यापक रामस्नेही यादवका अनुसार विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेकाले जस्तापाताको छानो भएका कक्षाकोठामा पढाइ सञ्चालन भइरहेको छ। करिब ३५ डिग्री सेल्सियस तापक्रमका बीच विद्युत् आपूर्ति अवरुद्ध हुँदा पङ्खा सञ्चालन हुन नसकेपछि कक्षाकोठामा अत्यधिक गर्मी महसुस भएको थियो। स्थानीयवासी तथा अभिभावकहरूले बढ्दो गर्मीलाई ध्यानमा राखी विद्यालय सञ्चालन समय व्यवस्थापन र विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?