राष्ट्रियसभामा मधेसको खानेपानी संकटदेखि महँगी नियन्त्रणसम्मका विषय उठे

44 मिनट पहिले प्रकाशित

जनकपुरधाम, जेठ १७ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मधेस प्रदेशमा बढ्दो खानेपानी संकट, महँगी, उद्योग, विद्युत तथा सामाजिक विभेदका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद उर्मिला अर्यालले मधेस प्रदेशमा सुक्खा बढेसँगै खानेपानीको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै समयमै प्रभावकारी समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो। सांसद गोमादेवी तिमल्सेनाले आगामी आर्थिक वर्षको बजेटमा उद्योग सञ्चालन तथा प्रवर्द्धनका लागि पर्याप्त बजेट विनियोजन नभएको बताउनुभयो भने सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशमा देखिएको विद्युत समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो।

बैठकमा सांसद भुवनबहादुर सुनुवारले जातीय छुवाछूत अझै अन्त्य हुन नसकेको भन्दै माइतीघरमा आन्दोलनरत दीपा नेपालीसहितका युवाहरूको माग सम्बोधन गर्न आग्रह गर्नुभयो। दलित समुदायका नागरिकले कोठा भाडामा लिनसमेत विभेद भोग्नुपरेको उल्लेख गर्दै उहाँले सामाजिक न्याय सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभयो। यस्तै सांसद युवराज शर्माले बढ्दो महँगीले सर्वसाधारण नागरिकलाई मारमा पारेको भन्दै मूल्यवृद्धि नियन्त्रणका लागि ठोस पहल गर्नुपर्ने बताउनुभयो। सांसद नरबहादुर विष्टले संसदमा उठाइएका जनसरोकारका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने धारणा राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?