विद्युतमा ५ प्रतिशत भ्याट लागू, घरायसी उपभोक्ता र भ्याटमा दर्ता नभएका उद्योगमा थप भार
49 मिनट पहिले प्रकाशित
काठमाडौं, जेठ १७ गते । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युत सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने व्यवस्था गरेको छ। यसअघि विद्युत भ्याटमुक्त रहेकामा अब बहुदर भ्याट प्रणालीअन्तर्गत विद्युत तथा राइडर सेवाजस्ता क्षेत्रमा ५ प्रतिशत भ्याट लगाइएको हो। आन्तरिक राजस्व विभागका अनुसार विद्युतमा लाग्ने भ्याट अन्तिम उपभोगको चरणमा मात्र उठाइनेछ। नेपाल विद्युत प्राधिकरणबाट विद्युत प्राप्त गर्ने घरायसी उपभोक्ता तथा उद्योग दुवैमा भ्याट लाग्ने भए पनि भ्याटमा दर्ता भएका उद्योगहरूले तिरेको भ्याट फिर्ता पाउने व्यवस्था गरिएको छ। तर घरायसी उपभोक्ता र भ्याटमा दर्ता नभएका उद्योगहरूले भने तिरेको भ्याट फिर्ता नपाउने भएकाले करको प्रत्यक्ष भार उनीहरूमाथि पर्नेछ।
सरकारले विद्युतमा १३ प्रतिशतको सट्टा सहुलियत दरमा ५ प्रतिशत भ्याट लागू गरेको जनाएको छ। ५० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई भ्याट नलाग्ने व्यवस्था गरिएको छ भने सोभन्दा बढी खपतमा ५० युनिट घटाएर बाँकी खपतमा मात्र भ्याट लाग्नेछ। यता, ऊर्जा उत्पादकहरूले विद्युत क्षेत्रमा भ्याट लागू गर्ने निर्णयलाई सुरुवातमा सकारात्मक रूपमा लिए पनि नेपाल विद्युत प्राधिकरणले उत्पादकबाट खरिद गर्ने विद्युतमा भ्याट नलाग्ने व्यवस्था भएपछि उनीहरू असन्तुष्ट बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बिक्रीमा भ्याट लागेपछि खरिदमा पनि लाग्ने अपेक्षा गरिएको भए पनि सरकारले त्यो व्यवस्था नगरेको भन्दै असन्तुष्टि जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments