संघीय सरकारको दुई दिने बिदा निर्णय धनुषाका दुई पालिकाद्वारा अस्वीकार

9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ १५ गते ।  धनुषाको बटेश्वर गाउँपालिकाले संघीय सरकारले लागू गरेको सातामा दुई दिन सार्वजनिक बिदासम्बन्धी निर्णय कार्यान्वयन नगर्ने घोषणा गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै आफ्ना मातहतका सबै कार्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय तथा विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन हुने जनाएको हो । पालिकाका अनुसार कामको चाप, सेवाग्राहीको असुविधा तथा विद्यालयमा पाठ्यक्रम समयमै पूरा हुन नसकेको गुनासोका कारण साविककै कार्यतालिका कायम गरिएको हो ।

गाउँपालिका अध्यक्ष रामआशीष महतोले दुई दिने बिदाले प्रशासनिक कामकाज, बजेट खर्च तथा सेवा प्रवाहमा असर परेको बताए । उनका अनुसार यो व्यवस्था प्रारम्भमा दुई महिनासम्म परीक्षणका रूपमा लागू गरिनेछ । यसअघि मुखियापट्टी मुसहरनिया गाउँपालिकाले पनि कर्मचारी ढिलो कार्यालय आउने, विद्यालयको पढाइ प्रभावित हुने तथा सेवाग्राहीलाई समस्या परेको भन्दै आइतबारको बिदा लागू नगर्ने निर्णय गरेको थियो । संघीय सरकारले गत चैत २२ गते मन्त्रिपरिषद् बैठकमार्फत शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?