वीरगञ्जमा देह व्यवसाय विस्तार, प्रहरीले छापा मार्दै नियन्त्रणमा ९ जना
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १४ गते । वीरगञ्ज महानगरपालिका क्षेत्रमा पछिल्ला दिनमा यौन व्यवसाय (देह व्यवसाय) बढ्दै गएको पाइएको छ । होटल, कटेज, रक्सी पसल तथा निजी घरहरूबाट समेत यस्तो गतिविधि सञ्चालन भइरहेको प्रहरी कारबाहीपछि खुलेको हो ।
बुधबार साँझ वीरगञ्ज महानगरपालिका–११ स्थित कृषि औजार कारखाना पछाडि झाँझी टोलमा रहेको एक घरमा यौन व्यवसाय सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको टोलीले घरधनी वकिल मियाँ अन्सारीसहित दुई पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
यसैबीच, वडा प्रहरी कार्यालय बिर्ताले नयाँ बसपार्क क्षेत्रमा होटल व्यवसायी र महिला यौनकर्मीबीच भएको झडपपछि एक पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
स्थानीय होटल व्यवसायीहरूले प्रहरीको फितलो अनुगमन तथा केही व्यवसायी र प्रहरीबीचको मिलेमतोका कारण यस्ता गतिविधि बढ्दै गएको आरोप लगाएका छन् । नयाँ बसपार्क क्षेत्र आसपास यौन व्यवसायसँग सम्बन्धित विवाद र झडपका घटना पछिल्लो समय बारम्बार देखिन थालेको उनीहरूको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
view comments