सर्पदंशबाट तीन वर्षीय बालकको मृत्यु, उपचारमा ढिलाइ भएको परिवारको आरोप
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १४ गते । सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा विषालु सर्पले डस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय रवीन्द्र गिरीका छोरा आदित्य गिरीलाई बुधबार साँझ घरको कौसीमा खेलिरहेका बेला सर्पले डसेको प्रहरीले जनाएको छ । सर्पदंशपछि गम्भीर अवस्थामा रहेका बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी चौकी सुन्दरपुरले जानकारी दिएको छ ।
बालकको मृत्यु भएपछि परिवारजन तथा आफन्तले चिकित्सकको लापरवाही र उपचारमा ढिलाइ भएको आरोप लगाउँदै अस्पताल परिसरमा केहीबेर होहल्ला गरेका थिए । पछि प्रहरीले सम्झाइबुझाइ गरेर अवस्था नियन्त्रणमा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पोस्टमार्टमपछि बालकको शव परिवारलाई जिम्मा लगाइएको छ । गर्मी र वर्षायाम सुरु भएसँगै तराई क्षेत्रमा विषालु सर्पको जोखिम बढ्दै गएको भन्दै चिकित्सकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments