नागरिकता प्रकरणमा पक्राउ पुर्जीपछि वीरगञ्ज महानगर प्रमुख अदालतमा उपस्थित
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १३ गते । नागरिकता लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह बुधबार पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् । सञ्चार माध्यममार्फत आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि न्यायिक प्रक्रियामा सहयोग गर्न स्वेच्छाले अदालत पुगेको उनले बताएका छन् । बिहान कार्यालय समय सुरु हुनासाथ अदालत पुगेका सिंह मुद्दाको अत्यधिक चापका कारण आज सुनुवाइ हुन नसक्ने अवस्था देखिएपछि फर्किएका हुन् ।
जिल्ला अदालत पर्साले जेठ ८ गते सिंहविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता र राहदानीलगायत सरकारी कागजात बनाएको आरोप लागेको छ । अदालतले जिल्ला प्रहरी कार्यालय पर्सालाई सात दिनभित्र आरोपीलाई पक्राउ गरी उपस्थित गराउन निर्देशन दिएको छ । यस प्रकरणमा सिंहकी पत्नी तथा वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको अदालत स्रोतले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments