‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान अलपत्र, पाँच वर्षदेखि गोदाममै थन्किए हजारौँ साइकल
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १३ गते । मधेश प्रदेश सरकारद्वारा छात्राको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान अहिले अलपत्र बनेको छ । कार्यक्रमअन्तर्गत खरिद गरिएका पाँच हजार पाँच सयभन्दा बढी साइकल विगत पाँच वर्षदेखि गोदाममै थन्किएका छन् । प्रयोगविहीन अवस्थामा रहेका साइकलमा खिया लाग्न थालेको छ भने धेरैका टायरको हावासमेत फुस्किएको छ । छात्रालाई विद्यालय आउजाउ सहज बनाउने, बालविवाह न्यूनीकरण गर्ने र छोरीहरूको शिक्षामा आकर्षण बढाउने लक्ष्यसहित सुरु गरिएको कार्यक्रम प्रारम्भिक चरणमा निकै लोकप्रिय बनेको थियो । तर साइकल खरिद प्रक्रियामा अनियमितताको आरोप लागेपछि वितरण रोकिँदा विद्यार्थी र अभिभावक निराश बनेका छन् ।
२०७५ सालमा तत्कालीन मुख्यमन्त्री लालबाबु राउत गद्दीको कार्यकालमा सुरु भएको कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिँदै आएको थियो । तर २०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियामाथि छानबिन थालेपछि वितरण प्रक्रिया ठप्प भयो । अहिले जनकपुर चुरोट कारखानाको पुरानो गोदाममा हजारौँ साइकल प्रयोगविहीन अवस्थामा राखिएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले साइकल वितरण गर्न सरकार इच्छुक भए पनि प्रशासनिक अवरोधका कारण प्रक्रिया अघि बढ्न नसकेको बताएका छन् । यता स्थानीय विद्यार्थी र अभिभावकहरूले सरकारको ढिलासुस्तीका कारण छात्रा शिक्षालाई प्रोत्साहन गर्ने महत्वपूर्ण योजना नै प्रभावहीन बनेको गुनासो गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments