जलेश्वर कारागारबाट भागेका २५० कैदीबन्दी अझै फरार
8 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ ११ गते । महोत्तरीको जलेश्वर कारागारबाट जेनजी आन्दोलनका बेला भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन् । आन्दोलनका क्रममा भदौ २४ गते कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जलेश्वर कारागारका प्रमुख अशोककुमार क्षेत्रीले जानकारी दिए । फर्किनेमा ३१६ नेपाली र १० भारतीय नागरिक रहेका छन् भने बाँकीको खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ । भागेका कैदीमध्ये १३ जनालाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल फर्काएको थियो भने अन्य कैदीबन्दी स्वेच्छाले कारागारमा उपस्थित भएका हुन् । प्रशासनले फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिमाथि पनि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
वि.सं. १९१३ मा निर्माण भएको जलेश्वर कारागार अहिले जीर्ण संरचना, अत्यधिक भीडभाड र सीमित स्रोतसाधनका कारण गम्भीर समस्यासँग जुधिरहेको छ । २०० जना क्षमताको कारागारमा अहिले दोब्बरभन्दा बढी कैदीबन्दी राखिएको छ । प्रशासनका अनुसार खानेपानी र खानाको व्यवस्था सामान्य भए पनि औषधिको अभाव, पुरानो भवन र सङ्क्रमणको जोखिम चुनौती बनेको छ । नयाँ भवन निर्माण र सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सके व्यवस्थापन सहज हुने कारागार प्रशासनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले फरार कैदीबन्दीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय परिचालित रहेको बताएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments