सुजिता ठाकुर हत्या प्रकरणमा देवरलाई जन्मकैद, १० आरोपीलाई सफाइ
8 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ ११ गते । महोत्तरीको चर्चित सुजिता ठाकुर हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले मुख्य आरोपी ठहरिएका मृतकका देवर रुपेश ठाकुरलाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी एवं श्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधीश तीर्थराज केसीको इजलासले व्यक्ति बेपत्ता तथा ज्यानसम्बन्धी कसुर मुद्दामा फैसला गर्दै रुपेशलाई दोषी ठहर गरेको हो । अदालतले उनलाई पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन तथा पीडित राहत कोषमा दुई हजार ८०० रुपैयाँ जम्मा गर्न पनि आदेश दिएको छ ।
यसै प्रकरणमा अदालतले १३ आरोपीमध्ये १० जनालाई सफाइ दिएको छ । सफाइ पाउनेमा कामेश्वर पाण्डे, अञ्जु कुमारी चौधरी, मोहम्मद अदम राइन, किशोरी मण्डल, विनोद मण्डल, नथुनी मण्डल, प्रिया ठाकुर, रामसखी देवी, पतिराम ठाकुर र भोगी महतो रहेका छन् भने उत्तम खत्वे र दुखी महतो नुनियाको मुद्दा मुल्तबी गरिएको छ । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर २०७८ जेठ २० गतेदेखि बेपत्ता भएकी थिइन् । अनुसन्धानका क्रममा हत्या गरी शव लुकाइएको खुलेपछि घटनाले देशभर ठूलो चर्चा पाएको थियो । प्रहरीले शव घरको फ्रिज, वन क्षेत्र र पछि पेट्रोल पम्पको सेफ्टी ट्याङ्कीबाट बरामद गरेको जनाएको थियो ।
कमेन्ट गर्नुहोस्
view comments