भारत सरकारको सहयोगमा सप्तरीमा साढे दुई करोडको विद्यालय भवन निर्माण

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ७ गते । भारत सरकारको करिब साढे दुई करोड रुपैयाँ अनुदान सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुवारीस्थित श्री जनता माध्यमिक विद्यालयमा तीनतले आधुनिक विद्यालय भवन निर्माण गरिएको छ । कुल दुई करोड ८४ लाख ३२ हजार ३०१ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनमध्ये दुई करोड २७ लाख ४५ हजार ८४१ रुपैयाँ भारत सरकारले उपलब्ध गराएको हो भने बाँकी रकम सुरुङ्गा नगरपालिकाले व्यहोरेको जनाएको छ । नवनिर्मित भवनको उद्घाटन बुधबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका दूत देवीसहाय मीनाले गर्नुभएको हो ।

तीनतले भवनमा अतिरिक्त कक्षाकोठा, पुस्तकालय, बैठक कक्ष, शौचालय तथा कम्पाउन्डवाललगायत आवश्यक पूर्वाधार निर्माण गरिएको छ । सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले यसले विद्यार्थीलाई सुरक्षित र सुविधासम्पन्न शैक्षिक वातावरण उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा भारतीय दूत मीनाले नेपाल–भारत विकास साझेदारीअन्तर्गत मधेश प्रदेशमा हालसम्म ८७ वटा परियोजना स्वीकृत भइसकेको जानकारी दिँदै शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र विद्युतीकरणलगायत क्षेत्रमा भारतको सहयोग जारी रहेको उल्लेख गर्नुभयो । स्थानीय जनप्रतिनिधिहरूले यस्ता परियोजनाले स्थानीय विकास र नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?