दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, उत्खनन प्रक्रिया अघि बढाउन दबाब
18 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ ६ गते । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भए पनि दोस्रो चरणको काम अगाडि नबढ्दा बहुचर्चित पेट्रोलियम परियोजना अन्योलमा परेको छ । चिनियाँ सहयोगमा गरिएको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्षसम्म पुग्ने करिब ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको देखाएपछि परियोजनाले राष्ट्रिय महत्व पाएको थियो । खानी तथा भूगर्भ विभागको समन्वयमा चार हजार १३ मिटर गहिराइसम्म सफल ड्रिलिङ सम्पन्न भइसके पनि ग्यासको उत्पादकत्व र व्यावसायिक परीक्षणका लागि आवश्यक अन्तिम चरणको प्रक्रिया अझै अघि बढ्न सकेको छैन । चिनियाँ पक्षलाई अनुरोधपत्र पठाइए पनि स्पष्ट कार्यतालिका नआउँदा परियोजना सुस्त बनेको हो ।

यसैबीच दैलेख र कालिकोटका जनप्रतिनिधि, प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको महाबुलेकमा बसेको संयुक्त बैठकले जलजलेको पेट्रोलियम उत्खनन कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ । सहभागीहरूले दैलेखको ग्यास परियोजना नेपालकै आर्थिक रूपान्तरणको आधार बन्न सक्ने उल्लेख गर्दै यसलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरेका छन् । विज्ञहरूका अनुसार दैलेखबाट उत्पादन हुने मिथेन ग्यास सवारीसाधन, उद्योग र घरायसी प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले यसले ऊर्जा सुरक्षासँगै अर्बौँ रुपैयाँ विदेशिनबाट रोक्न मद्दत गर्नेछ । बैठकले महाबु सडकखण्ड स्तरोन्नति, धार्मिक क्षेत्र संरक्षण तथा स्थानीयवासीको रोजगारी सुनिश्चित गर्नुपर्ने प्रस्तावसमेत पारित गरेको छ ।
कमेन्ट गर्नुहोस्
view comments