सिरहामा करिब ४० लाख बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा, झडपपछि थप अनुसन्धान

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ३ गते ।  सिरहाको नवराजपुर गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको ओखर, टुथपेस्ट तथा फेस क्रीमसहितको ट्रक नियन्त्रणमा लिएको छ। नेपालबाट भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको आशङ्कामा उक्त ट्रक नियन्त्रणमा लिइएको हो।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले स १ ख ५३५ नम्बरको ट्रक चालकसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको ट्रक हाल सिरहाको सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गणमा राखिएको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम बाबु यादवका अनुसार बरामद सामानको यकिन परिमाण तथा मूल्याङ्कन कार्य भइरहेको छ। “अहिले नै सम्पूर्ण विवरण भन्न सकिने अवस्था छैन, भोलि बिहान मात्रै विवरण सार्वजनिक गर्न सकिन्छ,” उनले बताए।

प्रहरीका अनुसार ट्रक नियन्त्रणका क्रममा प्रहरी र तस्कर समूहबीच झडपसमेत भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?