जनकपुर उच्च अदालत ले वैशाखसम्म ३ हजारभन्दा बढी मुद्दा फर्छ्यौट गर्यो
20 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ ३ गते । जनकपुर उच्च अदालत ले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गरेको जनाएको छ। अदालतमा अघिल्लो वर्षबाट सरी आएका दुई हजार २६७ तथा नयाँ दर्ता भएका तीन हजार ३८४ गरी कुल पाँच हजार ६५१ मुद्दा रहेकोमा हाल दुई हजार ५३६ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको अदालतका शाखा अधिकृत गणेश पाण्डेले जानकारी दिए। अदालतको कुल मुद्दा फर्छ्यौट प्रतिशत ५५ दशमलव १२ रहेको छ।

अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर ले न्यायिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन अदालत प्रतिबद्ध रहेको बताए। अदालतले लामो समयदेखि विचाराधीन मुद्दालाई प्राथमिकतामा राखेर टुङ्ग्याउने अभियान सञ्चालन गरिरहेको जनाएको छ। सार्वजनिक विवरणअनुसार एक वर्षदेखि १८ महिनाभित्रका ३७४, १८ महिनादेखि दुई वर्षभित्रका ७० तथा दुई वर्ष नाघेका चार मुद्दा अझै विचाराधीन छन्। अदालतले चालु आर्थिक वर्षमा चार हजार ५४६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments