विशेष अदालत ले धनौजी गाउँपालिकाको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश दियो

4 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ १ गते । विशेष अदालत ले धनुषाको धनौजी गाउँपालिका का पूर्वअध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश जारी गरेको छ। न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले नाला निर्माण तथा फोहोर मैला व्यवस्थापन योजनामा अनियमितता भएको आरोपसम्बन्धी मुद्दामा थप प्रमाण संकलन गर्न आदेश दिएको हो। मुद्दामा गाउँपालिकाका पूर्वउपाध्यक्ष, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा निर्माण व्यवसायीसहितका व्यक्तिहरू प्रतिवादी रहेका छन्।

आर्थिक वर्ष २०७७/०७८ मा बजार नाला तथा फोहोर मैला व्यवस्थापन शीर्षकअन्तर्गत विनियोजित बजेटमा मिलेमतो गरी एउटै निर्माण व्यवसायीबाट तीन फरक कम्पनीका नाममा टेन्डर हाल्न लगाई कमिसन लिएको आरोप छ। अभियोगपत्रअनुसार प्रतिस्पर्धाविहीन रूपमा एक रुपैयाँको मात्रै फरक राखी ठेक्का दिइएको तथा गुणस्तरहीन बजार सेड निर्माण गरेर कामभन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिँदै सरकारी रकम हिनामिना गरिएको उल्लेख छ। नाला निर्माणका लागि ५० लाख र फोहोर मैला व्यवस्थापनका लागि ४२ लाख रुपैयाँ विनियोजन गरिएकोमा करिब ३१ लाख ३४ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याइएको अभियोग लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?