सम्पत्ति छानबिन आयोग ले सार्वजनिक पदाधिकारीको गैरकानूनी सम्पत्तिबारे उजुरी माग्यो
5 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख ३१ गते । सम्पत्ति छानबिन आयोग ले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको जानकारी भए उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै भ्रष्टाचार वा अन्य अवैध गतिविधिबाट आर्जित सम्पत्तिबारे प्रमाण, सूचना वा जानकारी उपलब्ध गराउन अनुरोध गरेको हो। आयोगका अनुसार सार्वजनिक पदाधिकारीहरूले आफ्नो, परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएको हुनसक्ने भएकाले त्यस्ता विवरण उपलब्ध गराउन आग्रह गरिएको छ। आयोगले उजुरीकर्ताको नाम, ठेगाना र विवरण गोप्य राखिने पनि स्पष्ट पारेको छ।

आयोगले बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक पदाधिकारी, न्यायाधीश, सुरक्षा निकायका उच्च अधिकारी, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, सरकारी बैंक तथा सार्वजनिक संस्थानका उच्च कर्मचारीलगायतलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। २०६२ सालयताका सार्वजनिक पदाधिकारीहरूलाई लक्षित गर्दै आयोगले सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्न भनेको हो। आयोगले कार्यालयमा उपस्थित भएर, हुलाक वा इमेलमार्फत पनि उजुरी दिन सकिने व्यवस्था गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments