हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा सुरु

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख २९ गते । जिल्ला हुलाक कार्यालय रौतहटले सेवाग्राहीलाई घरमै राहदानी उपलब्ध गराउने सेवा सुरु गरेको छ। जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादव र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालबीच भएको सम्झौतापछि सेवा सञ्चालनमा आएको हो। मन्त्रिपरिषद्को शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार सरकारी सेवालाई घरदैलोमै पुर्‍याउने उद्देश्यले ‘गभर्नमेन्ट कुरियर सर्भिस’ अवधारणाअन्तर्गत पहिलो चरणमा राहदानी वितरण सुरु गरिएको जनाइएको छ। यस योजनाअन्तर्गत राहदानी, नागरिकता प्रतिलिपि तथा सवारी चालक अनुमति पत्रजस्ता कागजात पनि क्रमशः घरमै पुर्‍याउने तयारी गरिएको छ।

सेवाग्राहीले राहदानी फारम भर्दाकै दिन हुलाकमार्फत राहदानी बुझ्न चाहेको उल्लेखसहित छुट्टै फारम भरेर ५५ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि जिल्ला प्रशासन कार्यालयबाट राहदानी संकलन गरी सम्बन्धित व्यक्तिको घरमै पुर्‍याइने जिल्ला हुलाक कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भुषालले यस सेवाले टाढाका सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने, समय र खर्च बचत हुने बताउनुभयो। हाल जिल्ला प्रशासन कार्यालयमा थन्किएका करिब १ हजार ८ सय राहदानी पनि सम्बन्धित सेवाग्राहीसम्म पुर्‍याउन स्थानीय तहसँग समन्वय भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?