रौतहटमा लागुऔषध नियन्त्रण र सुधार अभियान सुरु
52 मिनट पहिले प्रकाशित
जनकपुरधाम, बैशाख २७ गते । रौतहट प्रहरीले जिल्लामा बढ्दो लागुऔषध प्रयोग र कारोबार नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सुरु गरेको छ। नेपाल–भारत सीमा क्षेत्र तथा चन्द्रनिगाहपुर आसपासका क्षेत्रमा लागुऔषध सेवनकर्ता र कारोबारीको संख्या बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अभियान सञ्चालनमा ल्याएको हो। प्रहरी उपरीक्षक सीताराम रिजाल का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा लागुऔषधसम्बन्धी मुद्दामा २६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ भने ६३ जनालाई पक्राउ गरिएको छ। प्रहरीले पक्राउ र कारबाही मात्रै पर्याप्त नभएको निष्कर्ष निकाल्दै सुधारमुखी अभियान अघि बढाएको जनाएको छ।

अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पुगेर लागुऔषध सेवनकर्ताको पहिचान, तथ्याङ्क सङ्कलन, परामर्श, सचेतनामूलक कार्यक्रम तथा आवश्यक परे उपचार र पुनःस्थापनाको व्यवस्था गरिने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अभिभावक, शिक्षक, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थासँग सहकार्य गरेर अभियान प्रभावकारी बनाइनेछ। स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंह का अनुसार लागुऔषध दुर्व्यसनकै कारण जिल्लामा एचआइभी एड्स संक्रमितको संख्या पनि बढ्दो छ। हाल जिल्लामा ५४० जना एचआइभी संक्रमित रहेको र ४२५ जनाले नियमित औषधि सेवन गरिरहेको जानकारी दिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments