सर्लाही पूर्वाधार कार्यालयमा योजनाको ‘चिट्ठी कारोबार’ विवाद, जनप्रतिनिधिको गुनासो

56 मिनट पहिले प्रकाशित

जनकपुरधाम, बैशाख २७ गते ।  सर्लाहीको पूर्वाधार विकास कार्यालय मलङ्गवामा योजनाको चिट्ठी बिचौलियामार्फत वितरण गरिएको आरोपपछि विवाद चर्किएको छ। लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडाको सडक स्तरोन्नति योजनाको चिट्ठी लिन कार्यालय पुगे पनि चिट्ठी पहिले नै अन्य व्यक्तिले बुझिसकेको जानकारी पाएपछि असन्तुष्टि जनाउनुभएको हो। वडाध्यक्ष घिसिङले वडा कार्यालयलाई जानकारी नै नदिई बिचौलियाले योजनाको चिट्ठी बुझेर उल्टै कमिसन मागेको आरोप लगाउनुभएको छ। चालु आर्थिक वर्षमा नारायण खोलाका लागि २५/२५ लाख रुपैयाँका तीन वटा सडक योजना परेको भए पनि सुरुमै बिचौलियाको हस्तक्षेप हुँदा काम प्रभावित भएको उहाँको भनाइ छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार यादव ले भने यसअघिका कार्यालय प्रमुखबाट वितरण भएका चिट्ठीको अभिलेख नै फेला नपरेको बताउनुभएको छ। उहाँका अनुसार पुराना कागजात बुझ्न केही समय लाग्ने भएकाले सम्बन्धित वडाध्यक्षलाई पछि आउन भनिएको हो। यता पूर्व कार्यालय प्रमुख विजयकुमार यादव ले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै कार्यालयसँग दर्ता–चलानी अभिलेखबाट सबै तथ्य पुष्टि गर्न सकिने बताउनुभएको छ। घटनाबारे जानकारी पाएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया ले कागजात सम्बन्धी विषयमा छानबिन अघि बढाइएको जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?