धनुषामा यात्रुवाहक बस पल्टिँदा चालकसहित १७ जना घाइते
57 मिनट पहिले प्रकाशित
जनकपुरधाम, बैशाख २७ गते । धनुषाको मिथिला नगरपालिका–९ लालगढ नजिक पूर्वपश्चिम राजमार्गमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको हो। प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बसले अगाडि गइरहेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा पछाडिको भागमा ठक्कर दिएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेको बसमा ३३ जना यात्रु सवार रहेका थिए।

दुर्घटनामा चालक मकवानपुर हेटौँडा निवासी ४३ वर्षीय विष्णु घाइते हुनुभएको छ भने भारत आसामका बिराज शेख र सतन शेखसहित विभिन्न जिल्लाका यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको टाउको तथा शरीरमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा अर्को बसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments