अव्यवस्थित बस्ती हटाउने सूचनाविरुद्ध स्थानीयको आन्दोलन, जनकपुर–ढल्केवर सडक अवरुद्ध
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख २५ गते । जनकपुरधाम स्थित धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि प्रभावित स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनकारीहरूले शुक्रबार बिहान ७ बजेदेखि ८ बजेसम्म जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए। सडक अवरोधका कारण सवारी आवागमन प्रभावित भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादव ले जानकारी दिएका छन्।
क्षीरेश्वरनाथ नगरपालिकाले गत सोमबार सूचना जारी गर्दै गृह मन्त्रालयको २०८३ वैशाख १६ गतेको पत्रअनुसार नगरपालिका क्षेत्रभित्र वडा नं. १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा तथा अन्य संरचना सात दिनभित्र खाली गर्न आग्रह गरेको थियो।

नगरपालिकाले तोकिएको अवधिमा अतिक्रमित क्षेत्र खाली नगरे सुरक्षाकर्मीको सहयोगमा हटाइने चेतावनी समेत दिएको छ। त्यसपछि प्रभावित स्थानीयवासीले वैकल्पिक बसोबासको व्यवस्था नगरी उठीबास लगाउन खोजिएको भन्दै आन्दोलन सुरु गरेका हुन्।
स्थानीयवासीहरूले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments