वीरगन्जमा सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख २४ गते । वीरगन्ज स्थित त्रिभुवन राजपथअन्तर्गतको मुख्य सडक विस्तारको तयारीविरुद्ध स्थानीय घरधनी तथा व्यवसायीहरूले प्रदर्शन गरेका छन्। सडक विस्तारका नाममा पुराना बस्ती र व्यापारिक संरचना हटाउन खोजिएको भन्दै उनीहरूले बिहीबार मानव साङ्लो निर्माण गरेर विरोध जनाएका हुन्।
गण्डकदेखि मितेरी पुलसम्मका व्यवसायी, घरधनी तथा स्थानीय बासिन्दाले मुख्य सडकको दुवैतर्फ हातेमालो गर्दै मानव साङ्लो बनाएका थिए। प्रदर्शनका क्रममा ‘डोजर आतंक बन्द गर’, ‘विकासको नाममा विनाश गर्न पाइँदैन’, ‘हामी विकास चाहन्छौं, उठीबास होइन’ तथा ‘वीरगन्जको मेनरोडलाई सहरी मार्ग कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

स्थानीयवासीहरूले कानुनी प्रक्रिया पूरा गरेर दशकौँअघि निर्माण गरिएका घर तथा व्यापारिक संरचना हटाउने प्रयासले वीरगन्जको आर्थिक गतिविधि, व्यवसाय र ऐतिहासिक पहिचानमा गम्भीर असर पर्ने बताएका छन्।
उनीहरूले त्रिभुवन राजपथको वैकल्पिक बाइपास सडक सञ्चालनमा आइसकेकाले मुख्य बजार क्षेत्रलाई फराकिलो राजमार्गका रूपमा नभई सहरी मार्गका रूपमा विकास गर्नुपर्ने माग समेत राखेका छन्।
विरोध सभालाई सम्बोधन गर्दै विजय सरावगी ले आफूहरू विकासविरोधी नभएको स्पष्ट पारे। उनले वैज्ञानिक अध्ययन, उचित मुआब्जा तथा वैकल्पिक व्यवस्थाबिना सडक विस्तारका नाममा डोजर चलाउनु अन्यायपूर्ण हुने बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments