जनकपुरधाम। मधेस प्रदेशमा पछिल्ला वर्षहरूमा लागुऔषध दुर्व्यसन गम्भीर सामाजिक समस्याका रूपमा उभरिँदै गएको छ। भारतसँगको खुला सीमाका कारण लागुऔषध ओसारपसार सहज हुँदा यसको प्रभाव विशेषगरी युवापुस्तामा देखिन थालेको हो। यही अवस्थालाई मध्यनजर गर्दै मधेस प्रदेश प्रहरीले ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३’ सुरु गरेको छ। प्रदेश प्रहरीका सूचना अधिकारी कमल थापा का अनुसार अभियानको लक्ष्य केवल नियन्त्रण मात्र नभई सेवनकर्ताको पहिचान, उपचार र समाजमा पुनर्स्थापना गर्नु हो। डीआईजी गोविन्द थपलिया ले परम्परागत कारबाहीभन्दा अघि बढेर सुधारमुखी रणनीति अपनाउन निर्देशन दिएका छन्।

महोत्तरी, धनुषा, सर्लाही, सिराहालगायत सीमावर्ती जिल्लामा समस्या बढी देखिएको प्रहरीले जनाएको छ। प्रहरी अधिकारीहरूका अनुसार बेरोजगारी, साथीसँगको दबाब र पारिवारिक समस्याले युवालाई दुर्व्यसनतर्फ धकेलिरहेको छ। सीमामा निगरानी कडा पार्दै ड्रग टेस्ट चेकपोइन्ट स्थापना गर्ने, भारतीय सुरक्षा निकायसँग समन्वय बढाउने र शंकास्पद गतिविधिमाथि निगरानी राख्ने योजना अघि बढाइएको छ। यद्यपि स्थानीयवासी र विज्ञहरूले मात्र प्रहरी कारबाही पर्याप्त नहुने बताउँदै निःशुल्क उपचार, पुनर्स्थापना केन्द्र र व्यापक जनचेतना कार्यक्रम आवश्यक रहेको औंल्याएका छन्। प्रदेश सरकारका गृहमन्त्री फकिरा महतो ले समेत समस्या नियन्त्रणका लागि सीमामा कडाइ र सुधार कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments