कमला नदीको बाढीले ‘डाइभर्सन’ बगायो, सिरहा–धनुषा आवतजावत ठप्प
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, २० वैशाख गते। निरन्तर वर्षासँगै आएको बाढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माण गरिएको अस्थायी ‘डाइभर्सन’ बगाएको छ। हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुलको विकल्पका रूपमा बनाइएको उक्त डाइभर्सन बिहीबार रातिदेखिको भारी वर्षापछि आज बिहान पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। यसका कारण सयौँ सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन्। केही दिनअघि मात्रै मर्मत गरेर सञ्चालनमा ल्याइएको संरचना पुनः बाढीले बगाएपछि समस्या झन् जटिल बनेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव अत्यधिक भएकाले तत्काल मर्मत सम्भव छैन। पानीको सतह घटेपछि मात्रै जेसिबी प्रयोग गरी पुनः बाँध निर्माण गरिने उनले जानकारी दिए। कमला नदीमाथि स्थायी पुल निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासी वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। विशेष गरी वर्षायाममा जोखिमपूर्ण डुङ्गा यात्रा वा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन।
कमेन्ट गर्नुहोस्
view comments