रिंकु बलात्कार–मृत्यु काण्ड: जिल्ला अदालतले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै सजाय सुनायो
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १८ गते । नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु प्रकरणमा सिरहा जिल्ला अदालतले मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि फैसला सुनाएको छ। मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय तोकेको छ। घटना लुकाउन पञ्चायती गर्ने वडासदस्य नथुनी साह लगायतलाई आठ महिना कैद र सात हजार रुपैयाँ जरिवाना तोकिएको छ भने जनप्रतिनिधिको ओहदामा रहेर अपराधलाई प्रश्रय दिएको ठहर गर्दै साहलाई थप छ महिना कैद सजाय थपिएको छ।
२०८१ साल माघ २७ गते राति शौचका लागि घरबाहिर निस्केकी रिंकुलाई स्थानीय तीन युवकले सामूहिक बलात्कार गरेका थिए। पीडित रिंकुले भोलिपल्ट आमालाई घटना बताएकी थिइन् तर गाउँमै दुई पटक पञ्चायती बसाली एक लाख ५१ हजार जरिवानामा मिलाउने प्रयास गरिएको थियो। जरिवाना बाँडफाँटमा विवाद भएकै दिन माघ ३० गते रिंकु आफ्नै घरमा बाहिरबाट ढोका बन्द अवस्थामा झुण्डिएको हालतमा मृत फेला परेकी थिइन्। अदालतले दोषीहरूबाट जनही ३५ हजार रुपैयाँका दरले पीडित परिवारलाई क्षतिपूर्ति भराउने आदेश समेत दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments