अहिंसा र शान्तिका प्रतीक गौतम बुद्धको २५७०औँ जयन्ती देशभर हर्षोल्लासका साथ मनाइँदै
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १८ गते । शान्तिका अग्रदूत तथा भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजित सिद्धार्थ गौतम बुद्धको २५७०औँ जयन्ती आज वैशाख शुक्ल पूर्णिमाका दिन देशभर धार्मिक उत्साह र भक्तिभावका साथ मनाइँदै छ। लुम्बिनी, स्वयम्भू र बौद्धलगायत पवित्र स्थलहरूमा लामा तथा बौद्ध धर्मगुरुहरूको उपस्थितिमा पूजा, आराधना र प्रवचनका कार्यक्रम आयोजना गरिएका छन्। बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण — यी तीनै महत्त्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले विशेष श्रद्धा र महत्त्वका साथ मनाउने गर्दछन्।
इसापूर्व ५६३ मा रुपन्देही जिल्लाको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीका पुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतम राजकीय सुखसुविधाको बीचमा पनि मानवीय दुःखले विचलित भए र २९ वर्षकै उमेरमा दरबार त्यागेर तपस्याको मार्गमा लागे। "अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो" जस्ता कालजयी सन्देश दिएका गौतम बुद्धले विश्व शान्ति स्थापनामा पुर्याएको अतुलनीय योगदानको स्मरणस्वरूप प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने परम्परा रहँदै आएको छ।
कमेन्ट गर्नुहोस्
view comments