आज नृसिंह जयन्ती: भक्त प्रह्लादको रक्षाका लागि विष्णुको अवतारको स्मरण

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख १७ गते ।  वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ। धार्मिक विश्वासअनुसार भगवान् विष्णुले भक्तको रक्षा गर्न वैशाख शुक्ल चतुर्दशीका दिन नृसिंह अवतार धारण गरेका थिए, जसको सम्झनामा यो पर्व मनाइने गरिन्छ। नृसिंह अवतारलाई विष्णुको चौथो अवतार मानिन्छ, जसले दैत्यराज हिरण्यकश्यपुको वध गरी भक्त प्रह्लादको उद्धार गरेका थिए।

पुराणअनुसार हिरण्यकश्यपुले कठोर तपस्या गरी विभिन्न प्रकारका वरदान प्राप्त गरेका थिए, जसले उनलाई लगभग अमर बनाएको थियो। तर उनका छोरा प्रह्लाद भने विष्णुभक्त थिए, जसका कारण उनीमाथि पटक–पटक अत्याचार गरियो। अन्ततः “भगवान् सबै ठाउँमा छन्” भन्ने प्रह्लादको विश्वासलाई चुनौती दिँदै खम्बाबाट नृसिंह अवतार प्रकट भई सन्ध्याकालमा, घरको देउढीमा, न हतियार प्रयोग गरी न मान्छे न जनावरको स्वरूपमा हिरण्यकश्यपुको वध गरे। यसरी ब्रह्माबाट पाएका सबै वरदानको सीमा भित्रै रहेर नृसिंहले अधर्मको अन्त गरेका थिए।

धार्मिक मान्यताअनुसार यस दिन व्रत बस्ने, पूजा–आराधना गर्ने तथा भगवान् विष्णुको स्मरण गर्ने चलन छ। नृसिंह जयन्तीले सत्य, भक्ति र धर्मको विजय तथा अधर्मको पराजयको सन्देश दिने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?