धनुषामा पत्रकार महासंघको विरोध अभियान, ध्यानाकर्षण पत्र बुझाइयो
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १५ गते । नेपाल पत्रकार महासङ्घ ले देशव्यापी रूपमा अघि बढाएको प्रेस स्वतन्त्रता र पत्रकारहरूको हकहित संरक्षणसम्बन्धी विरोध कार्यक्रम अन्तर्गत धनुषा जिल्लामा पनि सक्रियता बढाएको छ। सोही अभियानअन्तर्गत महासंघ धनुषाले जिल्ला समन्वय समिति (जिसस) मार्फत जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकासहित स्थानीय तहका महासंघलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
महासंघले विशेषगरी संघीय सरकारले सरकारी मिडियालाई मात्र विज्ञापन दिने नीतिको विरोध गर्दै यसले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने खतरा रहेको जनाएको छ। महासंघ धनुषाका अध्यक्ष पुरन साहको नेतृत्वमा गएको टोलीले जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डललाई पत्र बुझाउँदै पत्रकारको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र समान विज्ञापन वितरणको माग गरेको हो। महासंघले पत्रकारमाथि बढ्दै गएको दमन, धम्की र असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय तहहरूलाई पत्रकारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
view comments