कमला नदीमा अस्थायी बाँध भत्किँदा हुलाकी मार्ग अवरुद्ध
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १५ गते । मधेशको जीवनरेखा मानिने हुलाकी मार्गअन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माण गरिएको अस्थायी बाँध लगातार दुई दिनको वर्षापछि पानीको सतह बढ्दा भत्किएको छ। बाँध भत्किएसँगै केही समय सवारी आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको थियो। पुलको डाइभर्सनभन्दा करिब ३०० मिटर अगाडि बनाइएको बाँध बीचमै भत्किएपछि सयौँ सवारी साधन बीच बाटोमै फसेका थिए, जसलाई स्थानीयको सहयोगमा उद्धार गरिएको सिरहा नगरपालिका–५का वडाध्यक्ष जागेश्वर यादवले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार तत्कालै जेसीबी प्रयोग गरी माटो हालेर समस्या अस्थायी रूपमा समाधान गरिएको छ। वर्षायाममा दीर्घकालीन समाधानका लागि स्थानीय जनप्रतिनिधिसँग छलफल भइरहेको बताइएको छ। १४ वर्षअघि ठेक्का लागे पनि कमला पुल हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण वर्षेनी स्थानीयवासीले सास्ती भोग्दै आएका छन्। २०७८ सालको बाढीले उद्घाटनको तयारीमा रहेको पुल नै भासिएपछि समस्या झनै जटिल बनेको हो। पुल निर्माणका लागि २०६८ सालमा लुम्बिनी जेभीसँग सम्झौता भएको थियो र हालसम्म पटक–पटक म्याद थपिँदा २० करोडभन्दा बढी खर्च भइसकेको छ।
कमेन्ट गर्नुहोस्
view comments