रेल सेवालाई दिगो बनाउन कार्गो विस्तारमा जोड
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १४ गते । नेपाल रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले रेल सेवालाई दिगो र व्यावसायिक बनाउन मालवाहक (कार्गो) सेवा अनिवार्य रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा उनले वर्तमान रेल सेवा, यसको अवस्था र भविष्यका सम्भावनाबारे चर्चा गर्दै यात्रु ओसारपसारसँगै मालसामान ढुवानीलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनका अनुसार कार्गो सेवा विस्तारले रेल सेवालाई आत्मनिर्भर र नाफामुखी बनाउनुका साथै समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।
उक्त कार्यक्रममा उनले रेल पूर्वाधार विस्तार, आधुनिक प्रविधिको प्रयोग र सेवा गुणस्तर सुधारमार्फत नेपाल रेल्वेलाई प्रतिस्पर्धी बनाउने आवश्यकता औँल्याए। साथै, निजी क्षेत्रसँग सहकार्य र सहलगानीमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिँदै सहभागीहरूले पनि पूर्वाधार सुदृढीकरण, समयतालिका व्यवस्थापन र सेवा विश्वसनीयता बढाउन सुझाव दिएका थिए। जनकपुरधाम उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूले रेल सेवाको प्रभावकारी सञ्चालनले मधेस प्रदेशको औद्योगिक तथा व्यापारिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सीमा क्षेत्रको व्यापार प्रवर्द्धनमा रेल सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments