प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने निर्णयलाई आईजीपी कार्कीको ‘ऐतिहासिक उपलब्धि’

2 घन्टा पहिले प्रकाशित

काठमाडौं,बैशाख ११ गते ।  महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने नेपाल सरकारको निर्णयलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले “ऐतिहासिक उपलब्धि”का रूपमा स्वागत गरेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी ३ आना क्षेत्रफलको उक्त जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा रहने निर्णय गरेको हो। यसअघि २०७५ भदौ २१ मा सो जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने निर्णय गरिएको थियो, जसलाई अहिले सरकारले सच्याएको छ।

सरकारको निर्णयपछि आईजीपी कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस कदमले संगठनको संस्थागत सुदृढीकरणमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन्। उनले प्रतिष्ठानलाई नेपाल प्रहरीको ऐतिहासिक विरासत र व्यावसायिक उत्कृष्टताको धरोहरका रूपमा उल्लेख गर्दै दीर्घकालीन पूर्वाधार विकास र दक्षता अभिवृद्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। साथै, उनले यस निर्णयका लागि मन्त्रिपरिषद् र प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै प्रतिष्ठान संरक्षणमा योगदान दिएका अवकाशप्राप्त वरिष्ठ प्रहरी अधिकृतहरूको पनि प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?