महोत्तरीमा घरमै राहदानी वितरण सेवा सुरु
3 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ११ गते । सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ। अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन्। नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत बुँदा नं. २७ कार्यान्वयन गर्दै प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय महोत्तरीबीच समझदारी भएपछि यो सेवा सुरु गरिएको हो।
सम्झौताअनुसार सेवाग्राहीले आवेदन दिँदा उल्लेख गरेको ठेगानामा नेपाल हुलाक सेवामार्फत सुरक्षित रूपमा राहदानी पुर्याइनेछ। हुलाक कार्यालयले ढुवानी, प्राप्तकर्ताको पहिचान पुष्टि तथा वितरण अभिलेख राख्ने जिम्मेवारी लिनेछ। यसअघि सेवाग्राही आफैं कार्यालय पुग्नुपर्ने बाध्यता रहेकामा नयाँ व्यवस्थाले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ। प्रशासकीय अधिकृत कामेश्वर यादव र हुलाक अधिकृत रामचन्द्र साहबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै सेवा औपचारिक रूपमा सुरु गरिएको हो।
कमेन्ट गर्नुहोस्
view comments