सरकारी विज्ञापन रोक्ने निर्णयप्रति जसपाको कडा आपत्ति

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख १० गते । सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन र सूचना नदिने निर्णयप्रति जनता समाजवादी पार्टी (जसपा), नेपालले कडा आपत्ति जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सङ्घीय मन्त्रालय, आयोग, सचिवालयसँगै प्रदेश र स्थानीय तहलाई समेत सरकारी सञ्चारमाध्यममार्फत मात्रै सूचना प्रकाशन–प्रसारण गर्न जारी गरेको परिपत्रलाई जसपाले प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भनेको छ।

जसपाले विज्ञप्ति जारी गर्दै यस्तो कदमले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाई नियन्त्रण गर्ने सरकारी मनसाय देखिएको आरोप लगाएको छ। सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्नु अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको प्रत्यक्ष प्रहार भएको उल्लेख गर्दै पार्टीले निर्णयको घोर भर्त्सना गरेको छ। आर्थिक सङ्कटका बेला यसले सञ्चारमाध्यम बन्द हुने र श्रमजीवी पत्रकार बेरोजगार हुने जोखिम बढ्ने भन्दै जसपाले यसले अप्रत्यक्ष रूपमा प्रेस सेन्सरसिप निम्त्याउने र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने चेतावनी दिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?