भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दा : पुरातत्व विभागका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ९ गते ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार निर्माण सेवा प्रालि तथा संयुक्त उपक्रमका बैंक खाताबाट अधिकारीको नाममा रकम जम्मा गराई घुस रकममार्फत सम्पत्ति खरिद गरिएको पाइएको छ।

आयोगले आरोप अनुसार विभागले गरेको ठेक्का सम्झौतामध्ये ६४ करोड २१ लाख ८९ हजार बराबरको ठेक्कामा चार करोड २२ लाख ७५ हजार नौ सय ८५ रुपैयाँ घुस लिएको देखिएको छ। सो रकमबाट जग्गा तथा सुन खरिद गरिएको र विभिन्न व्यक्तिलाई भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ। गैरकानुनी रुपमा आर्जन गरिएको सम्पत्ति लुकाउने, रुपान्तरण गर्ने तथा हस्तान्तरण गर्ने कार्य गैरकानुनी भएको ठहर गर्दै आयोगले समान बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?