गृहमन्त्री गुरूङसँग प्रधानमन्त्री शाहको लिखित स्पष्टीकरण माग, दीपक भट्टसँगको ‘कनेक्सन’बारे सोधियो जवाफ
3 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख ८ गते । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण माग गरेका छन्। आफ्नो सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्री शाहले उक्त कदम चालेका हुन्।
प्रधानमन्त्रीको सचिवालयले गृहमन्त्रीमाथि उठेका प्रश्नहरूबारे प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ। यसअघि गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै सार्वजनिक रूपमा बचाउ गर्दै आएका थिए। यद्यपि, विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रधानमन्त्रीले लिखित रूपमा नै जवाफ माग गरेका हुन्।
गृहमन्त्रीको सचिवालयका अनुसार सोमबार साँझ ६ बजे प्रधानमन्त्रीलाई लिखित स्पष्टीकरण बुझाइसकिएको छ। सचिवालयले भनेको छ, ‘प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएपछि गृहमन्त्री सुधन गुरूङले सार्वजनिक रूपमा दिँदै आएको स्पष्टीकरणलाई थप पुष्टि गर्दै लिखित जवाफ बुझाउनुभएको छ। विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनीबाट सेयर खरिद गरेको विषयमा उठेका प्रश्नहरूको जवाफ दिइएको छ।’
हाल गृहमन्त्री गुरूङले पेश गरेको लिखित स्पष्टीकरणको थप विवरणबारे भने खुलाइएको छैन।
कमेन्ट गर्नुहोस्
view comments