जेनजी मुभमेन्टले गृहमन्त्री सुधन गुरुङको बर्खास्ती र पक्राउको माग गर्दै

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख ७ गते । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गरेको छ । साथै मन्त्री गुरुङमाथि लागेका विभिन्न आरोपमा निष्पक्ष छानबिन हुनुपर्ने माग पनि अघि सारेको छ ।

मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा पदमा रहेर अनुसन्धान गर्न गाह्रो हुने र न्याय प्रक्रियामा समस्या आउने भन्दै मन्त्री गुरुङलाई तत्काल बर्खास्त गर्नुपर्ने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “मन्त्री कसलाई बनाउने भन्ने गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्वता, नेतृत्वदायी क्षमता र दूरदर्शिता देखाउनै पर्छ ।”

जेनजी मुभमेन्टले ७६ जनाको रगतले प्राप्त गरेको परिवर्तनमा दोषी देखिएका वा आरोप लागेकाहरूलाई कुनै पनि हालतमा राजनीतिक संरक्षण नहुनुपर्ने बताएको छ ।

गृहमन्त्री सुधन गुरुङ विवादास्पद व्यापारी दीपक भट्ट समूहसँग जोडिएको एक लघु बिमा कम्पनीको शेयर होल्डर रहेको तथ्य बाहिरिएपछि विवादमा तानिएका छन् । उक्त कम्पनीमा गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ तर उनले अघिल्लो हप्ता बुझाएको सम्पत्ति विवरणमा यो उल्लेख गरेका छैनन् । दीपक भट्ट भने हाल सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा छन् ।

मुभमेन्टले सरकारलाई पद, शक्ति र राजनीतिक संरक्षण कसैका लागि पनि नहुने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?