देशभर बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि वितरण
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ६ गते । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले दुई दिनसम्म अभियान सञ्चालन गरेको हो।
स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापा का अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि वितरण गरिँदैछ। कार्यक्रमका लागि देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ भने जुकाको औषधिले पेटका किरा हटाएर कुपोषण, रगतको कमी तथा अन्य स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ। यो कार्यक्रम विगतदेखि नै नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
कमेन्ट गर्नुहोस्
view comments