हावाहुरीले मधेसमा जनधनको क्षति, सिरहा र महोत्तरीमा ३ जनाको मृत्यु
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ६ गते । शनिबार साँझ आएको तीव्र हावाहुरीका कारण मधेस प्रदेशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ। सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको छ भने महोत्तरीमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुरकी ६० वर्षीया किसुनवती यादव को घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पाल का अनुसार घटनालगत्तै प्रहरी टोली पुगेको र आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइएको छ।
उता महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि ढल्दा धनुषाको जनकपुरधाम–२० की ४१ वर्षीया सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका–३ का ३३ वर्षीय राहुल मलिक को घटनास्थलमै मृत्यु भएको छ। उक्त घटनामा अन्य चार जना घाइते भएका छन्, जसलाई नेपाली सेना ले उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ।
हावाहुरीका कारण मधेसका विभिन्न स्थानमा थप क्षति भएको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments